वर्षा यामका काठमाडौँका सडकः एक विश्लेष्ण

Comment

Uncategorized

असार साउनको महिना वर्षा यामको समय हो । आकाशे पानीमा आश्रीत नेपालको कृषि प्रणालीका कारण अधिकाशं कृषकको लागि यो निकै महत्वपूर्ण घडी हो । तर यही महिनाहरुमा यदि काठमाडौँका सडकका स्थितिहरुलाई नियाल्ने हो भन्ने पक्कै पनि यसको अवस्था एकदम नाजुक छ ।

सडकको विकास कुनै पनि देशको आर्थिक विकासकोे लागि महत्वपूर्ण पूर्वाधार हो । सडक विकास अनि उचित सडक व्यवस्थापनको अभावमा देशको बजार व्यवस्थापन, पर्यटन विकास, उद्योग, कलकारखाना, व्यापार, लगायतका सम्पूर्ण आर्थिक क्षेत्रको विकासको परिकल्पना गर्नु भनेको अंसम्भव नै हुन्छ । नेपालमा अति नै दुर्गम तथा विकट यस्ता क्षेत्रहरु पनि छन् जहाँ सडक निमार्ण गर्ने कुरा अझै पनि चूनौतिपूर्ण नै छ । नेपालको भौगोलिक बनावटका कारण पनि यस्ता विकट तथा दुर्गम क्षेत्रमा सडक निमार्ण गर्न समय लाग्छ नै । तर नेपालको राजधानी अनि देशको मुटु मानिने काठमाडौँको अवस्था यतिको नाजुक हूदाँ पनि किन सडक सम्बन्धित पक्षको कार्यालयहरुको ध्यान केन्द्रीत भएको छैन त ? एक संस्थाले गरेको अनुसन्धान अनुसार राजधानीका करिब ८० प्रतिशत सडक कालोपत्र गरेको ६ महिना पनि नबित्दै भत्किने, उप्किने गरेको प्रतिवेदन निकालेको छ । भत्किएका, उप्किएका कालोपत्रेहरु वर्षातको समयमा त झन जटिल समस्या नै बन्दै आएका छन् ।

काठमाडौको सडकको नाजूक अवस्था, तस्वीर सौजन्य ः दिपेन्द्र चाम्लागाईं

सरकारी क्षेत्रबाट सडक, बाटो–घाटो निमार्णको लागि देशको ढुकुटीबाट अर्बांै रुपैंया निकासा गरिएको छ । ती अर्बौं रुपैंया मध्ये अधिकाशं रकम सरकारले तपाई–हामी सम्पूर्ण आम नेपालीहरु, चाहे त्यो उच्च वर्गको व्यापारी, जग्गाधनी, घरधनी होस् या मध्यम वर्गका कर्मचारी, व्यवसायी, या त न्यून वर्गका किसान–मजदुुर नै किन नहोस् – हरेक मानिसहरुसगँ विभिन्न नाममा लिने गरेको कर नै हो । यी बाहेक सरकारलाई सडक निमार्ण तथा विकास प्रयोजनका लागि विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संघ संगठनहरुले पनि बेलाबेलामा अनुदान, ऋण पनि प्राप्त भईरहेका छन् । सरकारले सर्वसाधारण जनताबाट उठाउने गरेको कर, अनि विभिन्न दातृ निकायबाट लिएका अनुदानको उचित उपयोग किन गर्न सकेको छैन त ?

किन काठमाडौँ लगायतका अन्य राजमार्गको स्थिति यति नाजूक छ त ? ः

अन्तर्राष्ट्रिय मापदण्डको प्रकृया नपु¥याइकन सडकहरुको निर्माण गरिनु, दिर्घकालिन रणनीति र योजनाको अभाव, न्यून लागतमा काम सम्पन्न गर्न खोज्ने प्रवृति, गुणस्तरहिन कालापत्रको प्रयोग, थौरे टिकाउ हुने अनि कमसल सामानहरुको बढी प्रयोग गरिनु, निरीक्षण तथा अनुगमनका अभाव, भष्ट्राचार, भष्ट्राचार गर्ने विरुद्ध कडा निति नियमको कार्यन्यवन नहुनु, सडक निर्माणमा लाग्ने गरेका खर्चहरुको उचित लेखाजोखाको अभाव, छिटो र सजिलो तरिकाबाट काम सम्पन्न गर्ने प्रवृति, ठेकेदारको काम प्रतिको न्यून जवाफदेहिता, दक्ष र सीपयुक्त मानवशक्तिको अभाव आदि कारणलाई प्रमुख कारणहरु मान्न सकिन्छ । हरेक वर्षा यामको सुरुवात सँगै सरकारले सडक निर्माण तथा मर्मतको प्रकृया पनि अपनाएको हुन्छ । तर सरकारलाई प्राप्त हुने अनुदान तथा करहरु केवल जनताको आखाँमा छारो हाल्नको लागि मात्र प्रयोग भएको देखिन्छ ।

वर्षा याममा सडकका कारण भोग्नुपरेका समस्याहरु ः

काठमाडौँ लगायतका महत्वपूर्ण राजमार्गहरुमा सडकको राम्रो व्यवस्थापन नभएका कारण सर्वसाधाराण जनता दिनहुँ जोखिमपूर्ण र कष्टकर यात्रा गर्न विवश छन् । सडकको राम्रो व्यवस्थापन नभएकै कारण वर्षा याममा सवारी साधनहरु घण्टौ सम्म जाममा फस्ने समस्या पनि यथावत नै छ । सडककै नाजुक अवस्थाका कारण दुर्घटनाको संख्या पनि बढी नै हुन्छ यी महिनाहरुमा । सडकमा देखिने भत्किएका अनि उप्किएका कालापत्रका दृश्यहरु, यत्र तत्र जमेको पानी, ढलहरु, सडकका पेटीहरुमा देखिने हिलो, मैलो दुर्गन्ध, आदि कारणहरुले पनि वर्षा याममा काठमाडौ भित्रिने पर्यटकहरुको आगमन संख्यामा कमि पनि आउने गरेका गुनासोहरु पनि बेलाबेलामा आउने गरेका छन् । सवारी चालकले मात्र नभइकन वर्षा यामको समयमा पैदल यात्रीले पनि अनेकौँ समस्या भोग्नुपरेको छ । त्यस्तै राजमार्गका सडकमा वर्षा याममा भारी वर्षाको कारण पहिरो जानाले सवारी साधननै ठप्प हुने गरेको समाचारहरु पनि प्रसस्तै सुन्नमा आएका हुन्छन् । यस्ता राजमार्गमा नै सडक यातायात ठप्पै भइदिंदा कैयाँै सर्वसाधरणले अनेकौ सास्ती पनि भोग्नुपरेको छ ।

सडक सुधारका लागि केहि लागि सुझावहरु ः

सर्वप्रथम, सडक निर्माणको नाममा करदाताहरुले तिरेको कर रकमलाई आफ्नै निजि स्वार्थ पूर्तिकालागि प्रयोग गर्ने भष्ट्रचारीहरुलाई कडा सजायको व्यवस्था गर्नु अत्यावश्यक छ । दीर्घकालिन रणनिति बनाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको सडकहरुको निमार्ण प्रकृयामा जोड दिनु पर्ने देखिन्छ । सडक निमार्णका दौरानमा हुने गरेका भष्ट्राचार आदिको उचित छानविन हुनु पनि जरुरी छ । कडा अनुगमन तथा सुपरिवेक्षण र कडा निगरानी हुन अत्याधिक जरुरी छ । सडक निमार्णको प्रयोजनमा लाग्ने खर्च र लगानीको हिसाबको उचित लेखा जोखा हुनु पनि जरुरी छ । करमा जनताको पसिना लुकेको हुन्छ र कर आर्थिक विकास, परोपकार तथा लोककल्यानकारी गतिविधीहरुमा पनि लगाइने हुन्छ । जनताले देशको विकासको लागि तिर्ने गरेको यी करहरुको उचित प्रयोग भएको प्रत्याभूति दिलाउनु अति नै महत्वपूर्ण छ । राज्यका हरेक निकायहरु करदाता प्रति जवाफदेहि हुन र उनीहरुको हरेक नीति र कार्य पारदर्शि हुन जरुरी छ ।

Sunita Bhattarai

About Sunita Bhattarai

Communication Assistant at Samriddhi, The Prosperity Foundation