बढ्दो व्यापार घाटा र घट्दो लगानी

Comment

Uncategorized

trade deficitभनिन्छ वचत नै लगानीको श्रोत हो । यसो भनिए तापनि नेपालीहरुको आयको धेरै हिस्सा उपभोगमा नै खर्च हुन्छ । त्यसैले कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत मात्र वचत भएको तथ्य भर्खर सार्वजनिक भएको उपभोगप्रतिवेदनले देखाएको छ । यतिमात्र नभएर नेपालको व्यापार घाटा पनि वर्षेनी वृद्धि हुँदै गइरहेको छ जसले नेपालको अर्थतन्त्रलाई आयातमुखी बनाउदै लगिरहेको छ । त्यसैले आर्थिक वर्ष २०६१÷६२ मा नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको १५.४ प्रतिशत रहेकोमा हरेक वर्ष वृद्धि हुँदै आर्थिक वर्ष २०६९÷७० मा २८.४ पुगेको छ । यही क्रममा हाम्रो व्यापार घाटा आकाशिदै जाने हो भने केही वर्ष पछि अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्न अमेरिकन डलर, भारतीय रुपैया, र अन्य अन्तर्राष्ट्रिय मुद«ाको मौज्जाद पनि नहुन सक्छ ।

विदेशी मुद«ाको आयको मुख्य स्रोत नै वस्तु तथा सेवाको निर्यातबाट हुन्छ । तर नेपालमा सन् १९९२ प्रजातन्त्रको पुनरवहालीसंगै प्रथम चरणको नीतिगत सुधारको थालनी गरिएको हुँदा नेपाली अर्थतन्त्रले केहि गति लिएको थियो र छोटो समयको लागि भए पनि भारतमा भन्दा उच्च दरको आर्थिक वृद्धि हासिल भयो । यसै समयमा निर्यातमा आधारित गलंैचा, गार्मेन्ट, पश्मिना, तामाको तार, वनस्पति घ्यूको उद्योग फस्टाएको थियो । यी उद्योगहरुको देनबाट हासिल भएको आर्थिक वृद्धि दिर्घकालसम टिक्न सकेन किन भने विश्व व्यापार संघको प्रावधान अनुसार गार्मेन्टमा नेपाल लगायत अन्य अल्पविकसित देशलाई दिइदै आएको कोटा प्रणाली खारेज भयो । यसको फलस्वरुप नेपालमा उत्पादन भएको तयारी पोशाकले अन्य देशहरुबाट उत्पादन भएको पोशाकहरुसंग प्रतिस्पर्धा गर्न नसकी विकसित देशको बजार क्रमशः गुम्दै गयो । त्यसैगरी गलैंचा उत्पादनमा पनि बालश्रम प्रयोग भएको घटना यूरोपियन देशहरुमा व्यापक प्रचार भएपछि यहाँको बजार पनि न्यून हुँदै गयो । यसका अतिरिक्त, गलैंचा उत्पादनमा गुणस्थर पनि क्रमशः खस्कदै गएको हुँदा ती मुलुकहरुबाट कम माग भएको हो । तामाको तार र वनस्पति घ्यूको प्रमुख माग भारतमा थियो तर भारतले आफ्नो स्वदेशी उद्योगलाई असर पारेको कारण देखाई भन्सारमा विभिन्न प्रतिकुल नियमहरु लागु गर्दा यी वस्तुहरुको निर्यात घट्दै गयो । यसकै कारणले गर्दा भर्खर स्थापना भएका धेरै तामाको तार र वनस्पति घ्यूको उद्योगहरु बन्द भए ।

यी वस्तुहरुमा निर्यातको सम्भावना कम भएपछि वस्तु विविधिकरण गरी अन्य वस्तुहरुको उत्पादन गरी निर्यात गर्न खासै कसैको ध्यान जान सकेन जसको फलस्वरुप नेपालको व्यापार घाटा हरेक वर्ष चुलिदै गएको छ । यसो हुँदा हुँदै पनि नेपालको चालु खाता भने विप्रेषणको कारणले गर्दा वचतमा नै छ । विप्रेषणबाट भएको आम्दानीलाई दिगो स्रोतको रुपमा लिन सकिदैन किनकी हाम्रो देशबाट वैदेशिक रोजगारका निम्ति जाने राष्ट्रहरुले उनीहरुको श्रम नीतिमा थोरै परिवर्तन गर्ने वित्तिकै विप्रेषणबाट हुने आयमा अधिक असर पर्दछ । मलेसिया लगायत अन्य देशहरु विस्तारै ज्ञानमा आधारित अर्थतन्त्रमा परिवर्तन हुन खोज्दैछन तर नेपालबाट यी मुलुकहरुमा रोजगारमा जाने श्रमशक्ति विशेष गरी सीप विहिन हो । त्यसैले वैदेशिक रोजगारबाट हुने आम्दानीलाई अल्पकालीन स्रोतको रुपमा ठीकै भए तापनि दिर्घकालीन स्रोतको रुपमा पक्कै पनि लिन सकिन्न ।

दक्षिण कोरिया, चीन, कोष्टारिका, भारत जस्तै लामो समयसम्म आर्थिक वृद्धि हासिल गर्नको लागि देशभित्र उपलब्ध साधन र स्रोतको अधिकतम सदुपयोग गर्नुपर्दछ । नेपालमा पनि तुलनात्मक रुपमा लाभ भएका पर्यटन, ऊर्जा, कृषि लगायत अन्य क्षेत्रमा स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी बढाउनुपर्दछ । लगानी आकर्षित गर्न समस्याका रुपमा पहिचान भएका वैदेशिक लगानी ऐन, विद्युत ऐन, श्रम ऐन लगायत सम्बन्धित नीतिहरुमा समय सापेक्ष सुधार गर्नुपर्दछ । यसबाट स्वदेशमा नै रोजगारीको अवसर सृजना भएर मानिसहरुको आम्दानीमा वृद्धि भई क्रय शक्ति बढ्नुका साथै राष्ट्रको समग्र आम्दानी बढ्छ । यसको माध्ययमबाट नै नेपाललाई अति कम विकसित राष्ट्रको दर्जाबाट विकासोन्मुख देशको रुपमा रुपान्तरण गर्न सकिन्छ ।

Pramod Rijal

About Pramod Rijal

Pramod Rijal is a Research Associate at Samriddhi, The Prosperity Foundation. He is also a lecturer of Economics at Mega National and Unique College of Management and has contributed a number of articles in various national dailies.

Leave a Reply

Your email address will not be published. Required fields are marked *