खस्कदो औद्योगिक अवस्थाका प्रमुख कारणहरु

Comment

Uncategorized

Industry1प्रजातन्त्रको पुनरवहालीसंगै नब्बेको दशकमा भएको नीतिगत सुधारले निजी क्षेत्रको सहभागितामा ६–७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो जसमा औद्यौगिक क्षेत्रको देन ९ प्रतिशतसम्म पुगेको थियो । तर, देशमा माओवादी द्धन्द्धमा फसेपछि व्यवसायिक वातावरण बिग्रदै गयो जसको कारणले गर्दा आर्थिक वृद्धि न्यून भयो र सन् २००१ मा आउँदा त आर्थिक वृद्धि नकारात्मक नै भयो । अर्थतन्त्रमा देखिएको नकारात्मक असर अनुसार नेपालको कुल गाह्रस्थ उत्पादनमा उद्योग क्षेत्रको देन पनि क्रमशः घटदै गयो । बाह्र बुँदे समझदारी संगै शान्ति स्थापनाका लागि स्वदेशी तथा विदेशी शुभचिन्तकहरुको सहयोगमा विभिन्न प्रयासहरुको थालनी भयो र माओवादी सैन्य समायोजन पछि दशवर्षे द्धन्द्धको लगभग अन्त्य भयो ।
देशमा प्रथम र दोस्रो गरी दुई संविधान सभाको चुनाव भए तापनि व्यवसायिक वातावरण सुधार हुन सकेन । यसको प्रमुख कारणहरु तल प्रस्तुत गरिएको छ ।

१. ऊर्जा अभाव
ऊर्जा कम आपुर्ति हुनु नै आद्योगिक विकास नहुनुको पहिलो समस्या हो किनभने उद्यमीहरुले विद्युत उपलब्ध नभएपछि यसको विकल्पमा डिजेल जेनेरेटर चलाएर विद्युत आपूर्ति गर्नुपर्दछ । यसले कुनै पनि उत्पादन मुलक कार्यको लागत वृद्धि गरिदिन्छ जसको कारणले गर्दा मुनाफा कम हुन्छ । यसरी लामो समयावधिसम्म लोडसेडिङ् हुने र अन्य विकल्प अपनाउँदा लागत अत्याधिक बढ्ने हुनाले भएका उद्योग र कल–कारखानाहरु पनि बन्द हुने क्रममा छन् । यसका अतिरिक्त, विद्युत आपूर्ति भएको समयमा पनि समय–समयमा ट्रिपिङ्को समस्या हुन्छ र यसरी एक्कासी विजुली जाने कारणले गर्दा चलिरहेको मेसिन बिग्रने जस्ता समस्या सृजित भएको छ । भैरहवा र वीरगंज जस्ता औद्योगिक करिडोरहरुमा यो समस्या अत्याधिक देखिएको छ ।

२. श्रम सम्बन्ध
श्रमिक हक हितका लागि यूनियन आवश्यक भए तापनि नेपालका श्रमिक यूनियनहरु पार्टीगत रुपमा विभाजन भएको हुनाले राजनीतिक रंग बढी देखिन्छ । उनीहरुले आफूले काम गर्ने उद्योग भन्दा पनि राजनैतिक पार्टीको एजेण्डा बढी बोक्ने र त्यसैको आधारमा बन्द एवं हड्ताल जस्ता क्रियाकलाप गर्ने हुनाले यो क्षेत्र अस्थिर रहेको छ । यसका अलावा नेपालमा काम गर्ने श्रमिकहरुको शिक्षा, तालिम, इच्छाशक्ति आदिको अभावमा उत्पादकत्व बढ्न नसकेको र उत्पादकत्वको तुलनामा नेपाली श्रमिकहरुको ज्याला पनि महँगो पर्न गएको छ । यसका अतिरिक्त नेपालमा श्रमिकहरुलाई हायर र फायर गर्न सकिने नीति नभएको हुँदा पनि धेरै लगानीकर्ताहरु नेपालको औद्योगिक क्षेत्रममा लगानी गर्न डराउँछन् किनभने आवश्यकता नभएको समयमा कर्मचारीहरु कटौती गर्न नसकिने हुनाले लगानीकर्ताको अनावश्यक लागत बढाउँछ र अन्य व्ययभार थपिदिन्छ ।

३. व्यापार व्यवधान
आजको विश्वमा व्यापारको महत्व वढ्दै गइरहेको छ तर नेपालमा सीमा व्यापार झन्झटिलो छ किनभने कुनै पनि वस्तु आयात तथा निर्यात गर्न कठीन छ । अप्ठ्यारा भन्सारको प्रक्रिया, बन्दरगाह संचालनमा रहेको पारम्परिक विधि आदि र भौतिक पूर्वाधारमा रहेको कमिको कारणले व्यापारको लागत र समय बढाइदिन्छ । विश्व बैंकले निकालेको डुईङ विजनेसको प्रतिवेदन अनुसार कुनै पनि सामान निर्यात गर्नका लागि नेपालमा ११ वटा कागजातहरु चाहिन्छ जबकि विकसित राष्ट्रहरुमा जम्मा ४ वटा र दक्षिण एसियाली राष्ट्रहरुमा औसत ८ वटा कागजपत्रहरु तयार पारे पुग्दछ । लामो कागजी प्रक्रियाले गर्दा धेरै सन्दर्भमा कतिपय सामानहरु भन्सारमा रहेर बिग्रने, हराउने र समयमा आवश्यक परेको ठाउँमा पु¥याउन नसक्दा दण्ड जरिवाना तिर्नुपर्ने वा अर्को पटकदेखि माग नै नआउने जस्ता समस्या देखापर्दछ । त्यसैले यस प्रक्रियालाई पनि समयानुकुल बनाउनुपर्दछ ।

४. कर तिर्नमा कठिनाइ
देश विकास गर्नको लागि करको भूमिका उल्लेखनीय हुन्छ । विदेशी सहयोग र सहायतामा विकास निर्माणका कार्यहरु गर्नु भन्दा आफ्नै साधन र स्रोतमा गर्दा परियोजनाको लागत कम हुनुका साथै प्रत्यक्ष र परोक्ष रुपमा हुने विदेशी हस्तक्षेप पनि कम हुन्छ । यी र अन्य कारणहरुले गर्दा हाम्रो देशमा पनि करदाताहरुको संख्या क्रमशः बढदै गइरहेको छ । यति हुँदाहुादै पनि आश्चर्य लाग्ने विषय के छ भने नेपालमा कुनै पनि उद्योग व्यवसायको कर तिर्न कर दाताले औसत रुपमा ३२६ घण्टा सयम खर्चनु पर्दछ जुन भूटान बाहेक अन्य देशहरु भन्दा खराब हो । त्यसैले गर्दा कर तिर्ने सुगमतामा नेपाल विश्वव्यापी रुपमा ११४औं स्थानमा छ । सन् २००८ देखि नै यस क्षेत्रमा खासै ठूलो सुधार देखिएको छैन ।

५. करार कार्यान्वयन
करार कार्यान्वयनको विषयमा भन्ने हो भने स्थिति अझ नाजुक छ किनभने करार कार्यान्वयनमा नेपालको स्थिति निराशाजनक छ । करार कार्यान्वयनका लागि ९१० दिन लाग्दछ भने माग गरेको २६.८ प्रतिशत रकम यस प्रक्रियामा नै खर्च हुन्छ । यसैको फलस्वरुप इच्छुक लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न अग्रसर हुदैनन् । उद्योग क्षेत्रमा भएको नगन्य लगानी पनि उचित वातावरणको अभावमा बंगलादेश, भारत, श्रीलंका लगायत अन्य देशमा स्थानान्तर भएको छ ।

यी सब प्रतिकुलताहरुले गर्दा नेपालमा उद्यमी, व्यवसायी एवं साधारण नेपालीहरुले गरि खाने वातावरण सृजना हुन सकेन । यसको परिणाम स्वरुप नेपालमा औद्योगिक क्षेत्रमा लगानी विकर्षण हुँदै गइरहेको छ । त्यसैले नेपालको औद्योगिक क्षेत्रलाई सन् नब्बेको दशकमा झैं सुनौलो दिनहरुमा लैजान र देश भित्र नै रोजगारको अवसर सृजना गर्न माथि उल्लेख गरिएका विषयमा सुधार गर्नुपर्दछ ।

Pramod Rijal

About Pramod Rijal

Pramod Rijal is a Research Associate at Samriddhi, The Prosperity Foundation. He is also a lecturer of Economics at Mega National and Unique College of Management and has contributed a number of articles in various national dailies.

Leave a Reply

Your email address will not be published. Required fields are marked *